(१) प्रधान न्यायाधीश वा न्यायाधीश पदमा नियुक्त भई सो पदबाट अवकाश प्राप्त गरेपछि निजले देहाय बमोजिमको निवृत्तभरण पाउनेछः–
(क) प्रधान न्यायाधीश वा न्यायाधीशको पदमा वा सो दुवै पदमा गरी पाँच वर्ष वा सोभन्दा बढी सात वर्षभन्दा कम अवधि सेवा गर्ने प्रधान न्यायाधीश वा न्यायाधीशले आफ्नो मासिक पारिश्रमिकको पचास प्रतिशत रकम र सात वर्ष वा सोभन्दा बढी अवधि सेवा गर्ने प्रधान न्यायाधीश वा न्यायाधीशले आफ्नो मासिक पारिश्रमिकको छैँसठ्ठी प्रतिशत रकम मासिक निवृत्तभरण ।
(ख) प्रधान न्यायाधीश वा न्यायाधीशको पदमा वा सो दुवै पदमा गरी सात वर्षभन्दा बढी सेवा गर्ने प्रधान न्यायाधीश वा न्यायाधीशलाई त्यसरी बढी सेवा गरेको प्रत्येक वर्षको लागि निजले अवकाश लिँदा खाईपाई आएको मासिक पारिश्रमिकको दुई प्रतिशतका दरले हुन आउने रकम खण्ड (क) बमोजिम हुन आउने मासिक निवृत्तभरणको रकममा थप गरी निवृत्तभरण दिइनेछ ।
तर प्रधान न्यायाधीश वा न्यायाधीशले पाउने मासिक निवृत्तभरणको रकम अवकाश लिँदाका अवस्थामा निजले खाईपाई आएको मासिक पारिश्रमिकको असी प्रतिशतभन्दा बढी हुने छैन ।
(२) उच्च अदालत वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा बहाल रहेको वा बहाल गरिसकेको वा तत्कालीन क्षेत्रीय अदालतको मुख्य न्यायाधीश, न्यायाधीश वा अतिरिक्त न्यायाधीशको पदमा बहाल गरिसकेको वा नेपाल सरकारको सेवामा बहाल रहेको वा बहाल गरिसकेको व्यक्ति सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भई सेवाबाट अवकाश पाएमा उपदफा (७) बमोजिम कायम हुने निजले त्यसरी अघि गरेको सेवा अवधि र सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा न्यायाधीश वा सो दुवै पदमा काम गरेको सेवा अवधि गणना गर्दा बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेको रहेछ भने निजले उपदफा (१) को खण्ड (क) बमोजिमको मासिक निवृत्तभरण वा देहायको हिसाबले हुने मासिक निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछः–
जम्मा सेवा अवधि x मासिक पारिश्रमिक
५०
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “नेपाल सरकारको सेवामा बहाल रहेको वा बहाल गरिसकेको व्यक्ति” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको संस्थाबाट निवृत्तभरण पाउन सक्ने कानून बमोजिम कुनै पदमा नियुक्त भई काम गरेको व्यक्तिलाई जनाउँछ ।
(३) प्रधान न्यायाधीश वा न्यायाधीश वा सो दुवै पदमा गरी पाँच वर्षको सेवा अवधि पूरा नहुँदै अवकाश प्राप्त प्रधान न्यायाधीश वा न्यायाधीशले आफूले काम गरेको जम्मा वर्षलाई निजले अवकाश प्राप्त गर्दा खाईपाई आएको डेढ महिनाको पारिश्रमिकको अङ्कले गुणन गर्दा हुन आउने अङ्क बराबरको एकमुष्ट रकम उपदान पाउनेछ ।
तर अन्य कुनै सेवाबाट अवकाश भई सरकारी कोषबाट निवृत्तभरण पाइरहेको व्यक्तिले प्रधान न्यायाधीश वा न्यायाधीश पदमा सेवा गरे बापत उपदान पाउने छैन ।
(४) निवृत्तभरण पाइरहेको व्यक्ति प्रधान न्यायाधीश वा न्यायाधीश पदमा नियुक्त भई यस ऐन बमोजिम पनि निवृत्तभरण पाउन सक्ने भएमा निजले अघि पाइरहेको निवृत्तभरण र यस ऐन बमोजिम पाउने निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछ ।
(५) माथिका उपदफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १३१ को खण्ड (ग) र (ङ) बमोजिम पदमुक्त भएको प्रधान न्यायाधीश वा न्यायाधीशले यस ऐन बमोजिम निवृत्तभरण वा उपदान पाउने छैन ।
(६) प्रधान न्यायाधीश वा न्यायाधीशको पारिश्रमिक वृद्धि हुँदा पारिश्रमिकको अङ्कमा जति प्रतिशतले वृद्धि भएको छ, निवृत्तभरण पाइरहेका प्रधान न्यायाधीश वा न्यायाधीशको पनि निजले खाईपाई आएको निवृत्तभरणको अङ्कमा सोको छैसठ्ठी प्रतिशतका दरले वृद्धि गरिनेछ ।
तर यसरी निवृत्तभरणको अङ्कमा वृद्धि गर्दा प्रधान न्यायाधीश वा न्यायाधीशले पाउने पारिश्रमिकको आधा रकमभन्दा कम हुने भएमा आधा रकम हुने गरी निवृत्तभरणमा वृद्धि गरिनेछ ।
(७) उपदफा (१) र (२) बमोजिम निवृत्तभरण र उपदफा (३) बमोजिम उपदानको अवधि गणना गर्ने प्रयोजनको लागि प्रधान न्यायाधीश वा न्यायाधीश वा सो दुवै पदमा काम गरेको अवधिमा सर्वोच्च अदालतको अस्थायी वा अतिरिक्त न्यायाधीश पदमा वा उच्च अदालत वा तत्कालीन पुनरावेदन अदालत वा क्षेत्रीय अदालतको मुख्य न्यायाधीश, न्यायाधीश वा अतिरिक्त न्यायाधीशको पदमा काम गरेको अवधि पूरै र नेपाल सरकारको सेवामा काम गरेको कूल अवधिको आधा अवधि जोडी गणना गरिनेछ ।
तर उपदान पाइसकेको कुनै व्यक्ति प्रधान न्यायाधीश वा न्यायाधीश पदमा नियुक्त भएमा निजले त्यसरी नियुक्त भएको एक वर्षभित्र आफूले अघि पाएको उपदानको पूरै रकम फिर्ता गरेमा मात्र निजले अघि गरेको सेवा अवधि यस उपदफा बमोजिम जोडिनेछ ।